१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

राष्ट्रिय वाणिज्य बैँकद्वारा ‘स्मार्ट मनि टक्स’ कार्यक्रम सम्पन्न

८ चैत, काठमाडौं। राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शूक्रबार स्मार्ट मनि टक्स् कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं नयाँ बानेश्वरमा अवस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तह देखी नै आवश्यक रहेको बताउनुभयो ।

उहाँले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले आफुसंग उपलब्ध पैसालाई सदुपयोग गरी त्यसबाट धेरैभन्दा धेरै लाभ लिन सक्ने बताउनुभयो ।

खनालले वित्तीय क्षेत्रका विषयमा युवा तथा विद्यार्थीहरुले बढिभन्दा बढि जानकारी राख्नुपर्ने भन्दै यस विषयलाई राष्ट्रिय वाणिज्य बैँकले निरन्तर उठान गर्दै आएको स्पष्ट पार्नुभयो । खनालले बढ्दो सूचना प्रविधिको प्रयोगसंगै यसले वित्तीय क्षेत्रमा चुनौती पनि थपेको भन्दै यसतर्फ देशव्यापी सचेतनाका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन वा एसएमएस लगायतका सामाजिक सञ्जालमा आएका लिंकहरु नखोल्न र सित्तैमा कसैले पैसा दिन्छु भन्ने कुरामा विश्वास नगर्न सबैमा अनुरोध गर्नुभयो ।

यसैगरी कतिपयले सुरुमा केही रकम वा सामान दिएर त्यो भन्दा धेरै रकम माग गर्ने अभ्यास पनि देखीएको भन्दै यस्ता प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो। सहभागी विद्यार्थीहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय साक्षरताको सुरुवात विद्यालयस्तरबाट घरघरमा पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैँकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र राम कुमार थापा सहित विभागिय प्रमुखहरु आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डलगायतकोे सहभागिता रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैँकले ग्लोवल मनि विकका अवसरमा देशव्यापी रुपमा वित्तीय सक्षरता सहितका सामाजिक तथा सामुदायिक कार्यक्रम गर्दै आएको छ । ग्लोवल मनि विक हरेक वर्ष १६ देखि २२ मार्चमा विश्वव्यापी रुपमा मनाईन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १४:३९