७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

ग्लोबल मनी वीकको सन्देशः वित्तीय शिक्षा बिना आम्दानी अपूरो

७ चैत, काठमाडौँ । “पैसा कमाउनु मात्र होइन, त्यसको व्यवस्थापन गर्न पनि जान्नुपर्छ” भन्ने सन्देशसहित ‘ग्लोबल मनी वीक’ विश्वभर मनाइरहेको छ । नेपालमा पनि नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूले अभियानकै रूपमा मनाइरहेका छन ।

नबिल बैंकसहितका केही वाणिज्य बैंकले डिजिटल प्लेटफर्मबाट यसको अभियानमा अझ बलियो सहभागिता जनाइरहेका छन । नबिलले शनिबार सामाजिक सञ्जाल मार्फत खर्च नियन्त्रण गर्ने, नियमित बचत गर्ने र भविष्यका लागि स्पष्ट योजना बनाउन प्रेरित गर्ने एउटा संन्देश सार्वजनिक गरेको छ ।

धेरै पैसा कमाउनु मात्र सफलताको मापदण्ड नभएको उल्लेख गर्दै समान आम्दानी हुँदा पनि व्यक्तिको जीवनस्तर फरक हुन सक्ने तथ्य नबिल बैंकले औंल्याएको देखिन्छ । सुरक्षित र स्मार्ट तरिकाले पैसा चलाउन जान्ने व्यक्तिले नै दीर्घकालीन रूपमा आर्थिक प्रगति हासिल गर्न सक्ने सन्देश बाँडिएको छ ।

dainiki.com

यस अभियानले विशेषगरी तीन मुख्य व्यवहारमा जोड दिएको छ, खर्च नियन्त्रण गर्ने, नियमित बचत गर्ने र भविष्यका लागि स्पष्ट योजना बनाउने । यी आधारभूत वित्तीय अभ्यासले व्यक्तिको आर्थिक अवस्था मजबुत बनाउने र जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने नबिल बैंकको सन्देश छ ।

साथै, “के पैसा कमाउनुअघि वित्तीय शिक्षा आवश्यक छ ?” भन्ने प्रश्न उठाउँदै नबिलले आर्थिक साक्षरताको महत्वप्रति जनचेतना फैलाउने लक्ष्य राखेको छ । ‘स्मार्ट मनी टक’ नारासहित सञ्चालन भइरहेको यो अन्तर्राष्ट्रिय अभियानले बालबालिका र युवामा वित्तीय ज्ञान अभिवृद्धि गरी जिम्मेवार आर्थिक व्यवहार विकास गर्ने उद्देश्य लिएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार ०६:४४