७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बाग्मती प्रदेश सरकारले गर्याे ८ महिनामा लक्ष्यको ३६.२९ प्रतिशत राजस्व सङ्कलन

६ चैत, बाग्मती । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने तोकिएको लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् रु १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा रु दुई अर्ब ५६ करोड दुई लाख चार हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी, प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२÷८३ मा रु आठ अर्ब २५ करोड लक्ष्य तोकिएकोमा रु चार अर्ब ४४ करोड ९३ लाख ४० हजार राजस्व मात्र सङ्कलन गरेको छ ।
प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा रु पाँच अर्ब चार करोड ६५ लाख १७ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु एक अर्ब ७५ करोड तीन लाख ३६ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा त्यसको ५३ दशमलव ६० प्रतिशत अर्थात् रु सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको अधिकृत पौडेलले बताउनुभयो ।

यस्तै, चालु आव २०८२÷८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा लक्ष्यको ५२ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई अर्ब ५० करोड १२ लाख १८ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १७:००