७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

६ चैत, धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गर्नुभएको छ ।

जनकपुर विमानस्थलमा आज आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका उच्च सुरक्षा अधिकारीहरू तथा धनुषाका सुरक्षा प्रमुखलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिनुभयो ।

विभिन्न आशङ्का र चुनौतीबीच ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार र सुरक्षा निकायले खेलेको भूमिका सराहनीय रहेको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।

बैठकमा मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव कमलप्रसाद भट्टराई, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद दाहाललगायत विभिन्न सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १५:३६