चश्मा खोलेरै छलफलमा बालेन, कस्तो बन्छ होला सरकार ?
५ चैत, काठमाडौँ । रहस्यमय पात्रको रूपमा चर्चा हुने गरेका पात्र भावी प्रधानमन्त्री बालेन्द्र शाह बालेन सरकार गठनको छलफलमा लाग्नुभएको छ । निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाएपछि बिहीबार अपरान्हबाट बालेन छलफलमा जुट्नुभएको हो ।
प्रायः भेटघाटमा कालै चश्मामा प्रस्तुत हुने बालेन बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापतिद्धय डिपी अर्याल र स्वर्णीम वाग्लेसहितको छलफलमा चश्मा खोलेर सहभागी हुनुभएको छ । सरकार बालेनले चलाउने र रविले पार्टी चलाउने सहमति अनुसार नै छलफल अघि बढेको रास्वपाका एक केन्द्रीय सदस्यले दैनिकीसँग बताउनुभयो । उहाँहरूको बीचमा कमलादीको रोयलसिंगी होटलमा छलफल भएको हो ।
केही महत्वपूर्ण शक्ति बाँडफाँडमा सामान्य छलफल भए पनि बालेनले सरकार चलाउने र रविले पार्टी चलाउने विषयमा दुबै नेताको बीचमा उच्चस्तरको समझदारी बनिसकेको छ । केही महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा उहाँहरूको बीचमा छलफल भएको छ ।

बिहीबारको छलफलमा सहभागी नेताहरूमध्ये उपसभापतिद्धय दुबै सरकारमा सहभागी हुने सम्भावना छ । यद्यपी बालेनले अहिलेसम्म कानुन विपरितको काम नगरेको र भोलि पनि गर्न नदिने हुँदा त्यसले रास्वपामा डिपी र स्वर्णिम जस्ता पात्रहरू समस्यामा पर्नसक्छन । बालेनको विगत हेर्दा उहाँले कानुन विपरितका काम गरेको देखिदैन ।
बालेनका सहयोगीहरूका अनुसार भोलिका दिनमा पनि सिस्टम बसाल्ने र कानुन कार्यान्वयमा उहाँको मुख्य ध्यान छ । सरकारले चाहेको खण्डमा विचौलियातन्त्र र कर्मचारीतन्त्रको भ्रष्टजालो केही दिनमै तोडिने सम्भावना रहेको छ । त्यसका लागि विज्ञहरू परिचालन गरेर बालेनले अध्ययन पनि गरिरहेको उहाँ निकट नेताहरूले बताइरहेका छन । १५ देखि १८ सदस्यीय मन्त्रिरिषद् बनाउने र चुस्त दुरूस्त काम सञ्चालन गर्ने बालेनको तयारी छ ।
अहिलेसम्म रास्वपाले प्रधानमन्त्रीमा बालेन, अर्थमा स्वर्णीम, गृह वा श्रममा डिपी र परराष्ट्रमा शिशिरलाई जिम्मेवारी दिने विषयमा चर्चा चलेको छ । यद्यपी यस विषयमा पार्टीले निर्णय नै गर्ने सभापति रवि लामिछानेले बुधबार सार्वजनिक रूपमै बताउनुभएको छ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १९:३१













