३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

प्रभु बैंकका दिनेश डंगोल पक्राउ, रश्मी पन्त अझै फरार

३ चैत, काठमाडाैँ । बैंकिङ कसूरको मुद्दामा प्रभु बैंक लिमिटेडका कर्पोरेट र प्रोजेक्ट फाइन्नास विभागका प्रमुख दिनेश डंगोल पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार डंगोललाई थापाथालीबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । ब्यूरोले पक्राउ पुर्जी लिइसकेको रश्मी पन्त भने अहिलेसम्म फरार रहेकी छिन । बैंककी प्रमुख विजिनेश अधिकृत(सीबीओ) पन्त हाल भारतको सहरहरूमा लुकिछिपी बसिरहेको बुझिएको छ ।

ब्यूरोले अशोक शेरचनसमेत संलग्न रहेको बैंकिङ कसूरको मुद्दामा संकलन भएका तथ्य प्रमाणहरु तथा विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा ललितपुर जिल्ला साविक सुनाकोठी गा.बि.स. वडा नं. ७ हालको परिवर्तित ललितपुर महानगरपालिका वडा नं.२७ घर भएका डंगोललाई पक्राउ गरिएको हो ।

डंगोल समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरी प्रभु बैंक लि. बाट प्रभु म्यानेजमेण्ट प्रा.लि. समेतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने/गराउने कसूरमा डंगोल पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार २१:१९