३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

ठगीबाट जोगिन ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

३ चैत, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न अनलाइन ठगीबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै हाल सामाजिक सञ्जालमार्फत फैलिरहेका “UNIQUE OPPORTUNITY GET 10,000 RUPEES!!” जस्ता भ्रामक सन्देशप्रति सचेत रहन ग्राहकहरूलाई अपिल गरेको हो।

बैंकका अनुसार यस्ता सन्देशहरू प्रायः ठगी गर्ने समूहहरूले प्रयोग गर्ने माध्यम हुन्, जसले आकर्षक पुरस्कारको लोभ देखाएर व्यक्तिगत तथा बैंकिङ जानकारी संकलन गर्ने प्रयास गर्छन्। यस्ता लिंक वा विज्ञापनमा क्लिक गर्दा ग्राहकहरूको गोपनीय विवरण चोरी हुन सक्ने जोखिम रहन्छ।

बैंकले ग्राहकहरूलाई कुनै पनि अनौठो वा शंकास्पद अफर देखेमा तुरुन्तै विश्वास नगर्न, आधिकारिक स्रोतबाट मात्र जानकारी लिन तथा आफ्नो बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ। साथै, बैंकले यस्ता कुनै पनि सर्भे संचालन नगरेकाे जानकारी गराउँदै यस्ता झुटा प्रचारलाइ विश्वास नगर्न अनुराेध गरेकाे छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर ठगीका घटना बढिरहेका कारण सबैलाई सचेत रहन बैंकले विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १५:०९