३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

३ चैत, नवलपरासी । नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको हो । फागुनको अन्तिम साताबाट सुरु भएको सो तटबन्ध निर्माणको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार स्थलगत अनुगमन गर्नुभएको छ ।

निरीक्षणका क्रममा सचिव दवाडीले नारायणी नदी किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “सुस्ता क्षेत्रको संरक्षणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाएको छ,” उहाँले भन्नुभयो, “यहाँ भइरहेको सरकारी लगानीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएकी हुँ ।”

आयोजना प्रमुख सुवेदीले वर्षायाम अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ फिल्डमै अस्थायी कार्यालय स्थापना गरी २४ घण्टा कर्मचारीको निगरानीमा काम भइरहेको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा सचिव दवाडीले आयोजनाको कामप्रति प्रशंसा गर्दै तटबन्ध निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १२:२८