अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यकः ट्रम्प
१ चैत, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्तहरू अझै पर्याप्त नभएको बताउनुभएको छ ।
शनिबार एक अन्तर्वार्तामा उहाँले इरानले सम्झौता गर्न चाहेको भए पनि हाल प्रस्तुत गरिएका सर्तहरू आफूलाई स्वीकार्य नभएको बताउनुभयो । उहाँका अनुसार सम्भावित सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेछ ।
ट्रम्पले युद्धविरामका लागि इरानले आणविक कार्यक्रमसम्बन्धी महत्वाकांक्षा पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने कुरा पनि सर्तका रूपमा हुन सक्ने सङ्केत दिनुभयो । तर उहाँले आफ्ना सबै सर्तहरू के–के हुन् भन्ने खुलाएका छैनन् ।
यो टिप्पणी संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि आएको हो । ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध, तेलको मूल्य वृद्धि तथा विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ ।
युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा प्रभाव अझ बढ्दै गएको बताइएको छ । ट्रम्पले युद्धबाट प्रभावित देशहरूलाई हर्मुज जलडमरू सुरक्षित र खुला राख्न सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँका अनुसार केही देशहरूले उक्त मार्ग सुरक्षित राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, तर उहाँले ती देशहरूको नाम भने खुलाएका छैनन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि जलडमरू हुँदै तेल प्राप्त गर्ने देशहरूलाई उक्त मार्गको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । साथै, उहाँले धेरै देशहरूले जलडमरू खुला राख्न युद्धपोत पठाउने सम्भावना रहेको सङ्केत दिनुभएको छ ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १६:४१










