डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को पोखराबाट छायाङ्कन सुरु
१ चैत, पोखरा । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए। अर्मलाकोटबाटै क्यामेरा रोल भएको यस चलचित्रको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको छायाङ्कन कार्य तालिका ३५ दिनको राखिएको छ।
‘जिरो डिग्री’को कथावस्तु नेपाली चलचित्र वृत्तमा निकै नौलो र रोचक छ। सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुम्नेछ। आकास बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहने यस चलचित्रलाई लिएर दर्शकमा अहिलेदेखि नै चासो बढेको छ। छायाङ्कनमा जानुअघि नै चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको थियो।
चलचित्रमा कलाकारहरूको निकै बलियो लाइनअप रहेको छ। रङ्गमञ्चबाट उदाएका अभिनेता विजय बराल र सनिशा भट्टराईको साथमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल र रमेश बुढाथोकी पर्दामा देखिनेछन्। यसका साथै प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारहरूको अभिनय यस चलचित्रमा रहनेछ। चलचित्रको कास्टिङ सन्जोग रसाइलीले नै गरेका हुन्।
कार्यकारी निर्माताका रूपमा मोती कार्की रहेको यस चलचित्रलाई निशाल पौडेलले छायाङ्कन गर्दैछन् भने सम्पादन चानस पुन मगर र रङ्ग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन्। चलचित्रमा अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना रहेको छ। चलचित्रको पब्लिसिटी डिजाइन रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले गर्नेछ भने कुबेर सिने डिस्ट्रिब्युसनले काठमाडौं उपत्यका बाहिर र डिसिएनले उपत्यकामा वितरण गर्नेछन्।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १३:३५










