१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

फेसबुकमा भिड्दै एमाले महासचिव, योगेशका नाममा पोखरेललाई राजेशको झाप्पु

३० फागुन, काठमाडौँ । आफ्नो फेसबुकमा राखेपछि सबै झुट सत्य हुन्छ भन्ने भ्रममा रहनुभएको नेकपा एमालेको महासचिव शंकर पोखरेललाई फेसबुक मार्फत कार्यकर्ताले झाप्पु हान थालेका छन । आफू र आफ्ना कुरा अन्तिम सत्य रहेको भ्रममा लामो समयदेखि रहनुभएको पोखरेलले शनिबारमात्रै पनि उपमहासचिव योगेश भट्टराईका बारेमा बाँड्न खोजेको भ्रम पत्रकार समेत रहेका एमालेका युवा नेता राजेश राईले तोडिदिनुभएको छ ।

कुनै समय शंकर पोखरेलको भित्री सहयोगीको रूपमा काम गर्नुभएको राईले शनिबार योगेका बारेमा पोखरेलले भ्रम छर्न खोजेपछि लामो टिप्पणीसहित त्यसको प्रतिवादन गर्नुभएको छ । प्रश्न सुन्न नसकेर पत्रकारहरूलाई फेसबुकमा ब्लक गर्ने अभियानमा केन्द्रीत  पोखरेलले शनिबार योगेशका बारेमा भन्नुभएको थियो, ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु। (सायद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस भनेर मात्र स्पष्ट गर्नु परेको हो ।)’

त्यसलगत्तै राजेशले महासचिव पोखरेलको उक्त टिप्पणी सेयर गर्दै प्रतिटिप्पणी मार्फत भ्रम चिरिदिनुभएको छ । उहाँले फेसबुक मार्फत नै भन्नुभएको छ, ‘योगेशहरू टिकट नपाए पनि देशभर आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन जान खोजेका थिए, तर त्यो सुविधा अर्थात् जिम्मेवारी दिने मामिलामा समेत मूल नेतृत्व पूरै अनुदार थियो । त्यहाँ एउटा ‘बार–बन्धन’ थियो। अर्थात्, उहाँहरुले यो सङ्कटको बेलामा ‘मनैबाट नेकपा (एमाले) जिन्दावाद’ भन्दा समेत शङ्काको आतङ्क सिर्जना गरिएको होइन र ? टिकट खोसेपछि सार्वजनिक रूपमा अपमानित गरेर कसरी हुर्मत लिइएको थियो, सम्झना गर्नु त । जनतालाई मत दिन अपिल गर्न छोडेर आफ्नै सहयोद्धाहरुको हुर्मत लिइरहेको भिडियोहरुले मन पोल्यो की पोलेन कुन्नी ? तर उनीहरू संयमित थिए। अध्यक्ष ओली र उहाँको समूहले कुनै माया–प्रेम नराखी, पर पुग्ने गरी आरोपित र अपमानित गरिरहेको बेला पनि उनीहरू पटक–पटक भनिरहेका थिए— ‘एमालेलाई पहिलो र बलियो बनाउनुको अर्को कुनै विकल्प छैन। अहिले नबोलौँ, चुनावपछि समीक्षा गरौँला।’ तर तपाईंहरूले कस्तो पार्टी निर्माण गर्नुभयो कि कार्यकर्ताले आफ्ना ‘भगवान्’ लाई आफ्नै छातीमा सजाउन समेत पाएनन्। आफ्नै धारामा रोकिनुपर्ने वा आफ्नै मन्दिरमा छेकिनुपर्ने अवस्था आयो ?’

राजेशको पूरा टिप्पणी तल हेर्न सक्नुहुन्छ

महासचिव कमरेड Shankar Pokhrel ,
तपाईंले ‘वक्ताका रूपमा माग भएका स्थानहरूमा जानु’ त भन्नुभयो होला, तर यथार्थ फरक थियो। धेरै उम्मेदवारहरूमा एउटा मनोवैज्ञानिक आतङ्क व्याप्त थियो, ‘यदि Yogesh Bhattarai योगेश भट्टराईलाई बोलाइयो भने नेतृत्व (अध्यक्ष, महासचिव र अरू पदाधिकारीहरू) रिसाउनुहुनेछ।’ मलाई धेरै उम्मेदवारहरुले भन्नुभएको थियो, ‘योगेश भट्टराई आइदिदा माहोल बन्थ्यो तर…।’ मेरो केही नजिकका उम्मेदवरलाई भनेका थिए, ‘योगेश दाइलाई बोलाउनु, खटीदिनुहुन्छ ।’ ‘बा,र अन्य नेताहरु रिसाउँलान् की,’ उहाँहरुको उत्तर थियो ।

तपाईंकै अनुसार पार्टी महासचिवसँग चुनावको बेला जिम्मेवारी माग्न आएका उपमहासचिवलाई ‘माग भएका स्थानहरूमा मिलेसम्म जानुहोस्’ भन्ने उत्तर दिनु भएछ । यो कति भयनाक उत्तर हो, सम्झिनुहोस् त । अर्को तथ्य, के योगेश भट्टराई पार्टीको उपमहासचिव होइनन् र ? पार्टीले परिचालन कमिटी, प्रचार कमिटी लगायतका अनेकौँ कमिटीहरू बनाएको थिएन र ? ती कमिटीहरूमा उम्मेदवार समेत नभएका उपमहासचिवलाई कुन जिम्मेवारी दिनुभएको थियो ?

चुनावअघि योगेश भट्टराईको दुःख कति नमीठो थियो भने, उहाँहरूको अवस्था देख्दा गायक यश कुमारले गाएको गीतको सम्झना आउँथ्यो। यश कुमारको गीतले भन्छ, ‘मैले छोएको पानी चल्दैन।’ समुद्र जस्तो एमाले इतिहासको यस्तो नयाँ घुम्तीमा आइपुगेको थियो, जहाँ ऊ असाधारण काकाकुल झैँ तिर्खाएको थियो। एमालेको यो खडेरीमा उसलाई थोपा–थोपाको महत्त्व थियो। तर पानी बोकेर दौडिरहेका योगेशहरूको पानी चलाउन समेत नेतृत्व पूरै अनुदार देखियो। मानौँ, उनीहरू पार्टीका ‘अछूत’ (नोट, छुत र अछुतको चिन्तन सबैभन्दा घृणित चिन्तन हो) हुन्।

योगेशहरू टिकट नपाए पनि देशभर आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन जान खोजेका थिए, तर त्यो सुविधा अर्थात् जिम्मेवारी दिने मामिलामा समेत मूल नेतृत्व पूरै अनुदार थियो । त्यहाँ एउटा ‘बार–बन्धन’ थियो। अर्थात्, उहाँहरुले यो सङ्कटको बेलामा ‘मनैबाट नेकपा (एमाले) जिन्दावाद’ भन्दा समेत शङ्काको आतङ्क सिर्जना गरिएको होइन र ? टिकट खोसेपछि सार्वजनिक रूपमा अपमानित गरेर कसरी हुर्मत लिइएको थियो, सम्झना गर्नु त । जनतालाई मत दिन अपिल गर्न छोडेर आफ्नै सहयोद्धाहरुको हुर्मत लिइरहेको भिडियोहरुले मन पोल्यो की पोलेन कुन्नी ?

तर उनीहरू संयमित थिए। अध्यक्ष ओली र उहाँको समूहले कुनै माया–प्रेम नराखी, पर पुग्ने गरी आरोपित र अपमानित गरिरहेको बेला पनि उनीहरू पटक–पटक भनिरहेका थिए— ‘एमालेलाई पहिलो र बलियो बनाउनुको अर्को कुनै विकल्प छैन। अहिले नबोलौँ, चुनावपछि समीक्षा गरौँला।’ तर तपाईंहरूले कस्तो पार्टी निर्माण गर्नुभयो कि कार्यकर्ताले आफ्ना ‘भगवान्’ लाई आफ्नै छातीमा सजाउन समेत पाएनन्। आफ्नै धारामा रोकिनुपर्ने वा आफ्नै मन्दिरमा छेकिनुपर्ने अवस्था आयो ?

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार १३:५६