अपांगता तथा महिलामैत्री पूर्वाधार बनाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन
२९ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक पूर्वाधारलाई अपांगतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिनुभएको छ ।
आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो । अनुगमन समितिका संयोजकसमेत रहनुभएकी डंगोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपांगता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
सानो गौचरन रङ्गशालामा अपांगता भएका व्यक्तिहरूका लागि संरचना नदेखेपछि उहाँले भन्नुभयो, “लिफ्ट राखेर अपांगता भएका व्यक्तिहरूलाई प्यारापिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।” हालसम्म रङ्गशालाको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सो रङ्गशाला निर्माण रु १८ करोड ८६ लाख ७४ हजार ८२७ मा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माण गरिरहेको छ । रङ्गशाला रु १८ रोपनी १ आना २ पैसा ३ दान ९९२११।५ वर्गमिटर० क्षेत्रफलमा फैलिएको छ । रङ्गशालाको दर्शक क्षमता एक हजार ५०० जनाको छ । ९६ दशमलव ६२ मिटरको खेलमैदान हुनेछ ।
आगामी चैत मसान्तभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तीन हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यससँगै बास्केटबल कोर्ट, भलिबल कोर्ट र एम्पिथिएटर निर्माण हुनेछ ।
प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार २०:५१










