स्वास्थ्य बीमाको रकम नतिरेको भन्दै धादिङका स्थानीयद्वारा फोहोर बिसर्जनमा अवरोध
२८ फागुन, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमाको रकम भुक्तानी नगरेको भन्दै धादिङको धुनिवेशी नगरपालिका–१ का स्थानीयले आजदेखि फोहोर बिसर्जनमा अवरोध गरेका छन्।
स्थानीयवासीले काठमाडौँबाट ल्याइने फोहोर आफ्नो क्षेत्रमा बिसर्जन गर्न नदिने भन्दै अवरोध सुरु गरेका हुन्। काठमाडौँ महानगरपालिकाले यसअघि स्थानीयका लागि उपलब्ध गराइने भनिएको स्वास्थ्य बीमासम्बन्धी रकम नतिरेपछि बाध्य भएर यस्तो कदम चाल्नु परेको उनीहरूले बताएका छन् ।

स्थानीयले आफ्नो मागप्रति सम्बन्धित निकाय गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनीहरूले स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गर्न माग गर्दै समस्या समाधान नभएसम्म फोहोर बिसर्जन रोकिराख्ने चेतावनी दिएका छन्।

स्थानीय अगुवाहरूले मागको सुनुवाइ नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन्। यस घटनाले काठमाडौँबाट बाहिर पठाइने फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुन सक्ने देखिएको छ।
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १३:५७










