११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

२८ फागुन, काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले आज (फागुन २८ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेकाे छ ।

सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ। यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ।

उक्त योजनामा न्यूनतम १०० इकाई । अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : March 12, 2026 at 10:34 am