२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने

२६ फागुन, काठमाडाैं । सरकारले आन्तरिक स्रोत परिचालनका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ‘विकास ऋणपत्र २०८७’ जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ५ वर्ष अवधिका लागि उक्त रकम उठाउन लागेको हो ।

ऋणपत्रको बोलकबोल यही फागुन २६ गते हुने छ भने निष्कासन फागुन २७ गते गरिनेछ । सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । जारी हुने ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिने व्यवस्था रहेकाे छ ।

ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । बोलकबोलमा सहभागीले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रम अनुसार मिलाएर बाँडफाँड गरिनेछ ।  उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १७:५५