गगनलाई चन्द्र भण्डारीको सुझावः राजीनामा होइन महाधिवेशन गर्नुहोस्
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै भण्डारीले राजीनामा अहिलेको विकल्प नभएको र नियमित महाधिवेशनतर्फ अग्रसर हुन आग्रह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
उहाँले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ ।’
समस्या देखेर भाग्ने भन्दा उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएका भन्दै उहाँले नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव भएको तर इच्छाशक्ति र साहस जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १०:५०










