हामीलाई प्रहार गरेर जिविका चलाइरहेका मानसिक रोगीहरूका प्रलापले केही फरक पार्ने छैन
२६ फागुन, काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले आफूहरूलाई प्रहार गरेर जिविका चलाइरहेका मानसिक रोगीहरूका प्रलापले केही फरक नपार्ने बताउनुभएको छ । फेसबुकमा लामो टिप्पणी राख्दै उहाँले मानसिक रोगीहरूका प्रलापले केही फरक नपार्ने बताउनुभएको हो ।

यस्तो छ थापाको टिप्पणी
२०८२ फागुन २१ को निर्वाचन र परिणाम दुबै अनपेक्षित रह्यो।देशको दीर्घकालीन हित र अस्तित्वविरूद्द धावा बोल्दै विदेशीका भरौटे र बुख्याँचाहरूले तिनको योजना, दुष्प्रचार र अकुत लगानीमा यो सब उत्पात मच्याएका छन्।सबैका मुखौटा खुल्दै जानेछन् र तिनको भण्डाफोर हुनु अनिवार्य छ।हामीले जनताकाविरूद्द कुनै गलत काम गरेका छैनौ, गर्दैनौं र कसैसँग अनुचित सौदावाजी पनि गर्दैनौं।विदेशी दादगिरी र हस्तक्षेप किमार्थ सैह्य र स्वीकार्य छैन।

निर्वाचनमा हारजित स्वभाविकै हो। तर हामीलाई प्रहार गरेर जिविका चलाइरहेका मानसिक रोगीहरूका प्रलापले केही फरक पार्ने छैन।हरेक मित्र र शत्रुको खास परिचय अप्ठेरो घडीमा अझ राम्रोसँग हुन्छ।र, सबभन्दा बढी ‘आफैले पालेका कुकुरले नै मालिकलाई टोक्ने गर्दछन्’ भन्ने भनाइ पनि व्यवहारत: परीक्षण भएको छ।थुप्रै दाजुभाइ दिदीबहिनीले हाम्रो पराजयमा पिर मान्दै टेलिफोन गरेर भक्कानिनु भएको छ।प्राविधिक रूपमा जयपराजयको घोषणालाई स्वीकारिएको छ, खेलमा भाग लिएको खेलाडीले यसो गर्नु स्वभाविकै हुन्छ। तर राजनीतिक घटना र परिघटनाको विश्लेषणका आधारमा भन्नुपर्दा यो जनमतविपरित कृत्रिम, चरम घृणा र इर्ष्याको ‘म्याच फिक्सिङ’को परिणाम अस्थायी मात्रै हो।यसले देशलाई झन् जटिल संकटतर्फ धकेल्ने खतरा बढाएको छ।
यस्तो बेलामा पार्टीभित्र संयम र विवेकका साथ समिक्षाको आन्तरिक स्थापित अभ्यासलाई बुध्दिमत्तापूर्वक अवलम्बन गर्नुपर्दछ। मिडियाबाजी र सडकबाट गालीगलौज गरेर सही निष्कर्षमा पुग्न संभव हुनेछैन।अझ पार्टी महाधिवेशनमा अस्वीकृत र पराजित कुराहरूका आधारमा चलखेल गरिनु सर्वथा मुर्खताबाहेक केही हुनेछैन।हरेक व्यक्तिको भुमिका जनता र कार्यकर्ताको सार्वजनिक निगरानी बाहिर नरहेको वास्तविकतालाई हेक्का राख्दै पार्टी र आन्दोलनका विरोधी र बैरीहरूको बोलीमा लोली मिलाएर जगहसाइ नगर्न पनि सबैलाई अनुरोध गर्न चाहन्छौं । यो राष्ट्र र जनताको साझा संकट हो, यसका विरूद्द एकताबद्द भएर मात्रै लड्न र विजय हासिल गर्न संभव हुनेछ।
प्यूठान जिल्ला- मत परिणाम-प्रत्यक्ष-समानुपातिक-
घण्टी : २७४६९(प्रत्यक्ष ), ३०७५२(समानुपातिक)
सूर्य : १६७१०(प्रत्यक्ष ), १६१९५(समानुपातिक)
रुख : १८३३८(प्रत्यक्ष), १५२२६(समानुपातिक)
तारा : ९०७४(प्रत्यक्ष), ९१८१(समानुपातिक)
प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार ०८:३३










