२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

अभिनेत्री रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२५ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ ।

गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यस चलचित्रमा रेखाको एउटा भिन्न परिचय देखिनेछ, उनी यसपटक क्यामेराको अगाडि (अभिनयमा) नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन् ।

रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा काम गरिरहेकी छिन् । चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको ठूलो टोली समेटिएको छ । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि चलचित्रमा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यस चलचित्रको अर्को मुख्य आकर्षण भनेको तीनजना पूर्व मिस नेपालहरूको उपस्थिति हो । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले यस चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्दैछन् ।

यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो ।

एक पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको थियो । जसमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका थिए । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् ।

अर्को पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा समावेश थिए । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरिएको थियो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ ।

ध्रुव लम्सालको लेखन रहेको यो चलचित्रले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ । लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन् ।

प्रोडक्सन हेड सीएम भारद्वाज (सुवेदी)का अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाटै सुटिङ सुरु गर्ने तालिका भए पनि चुनाव र पछिल्लो परिस्थितिका कारण केही दिन ढिलाइ भएको बताए । काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिने चलचित्रको छायांकन करिब एक महिना चल्ने उनले जानकारी दिए ।

चलचित्रलाई सुदीप बरालले छायांकन (डिओपी) गर्दैछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा राजन घिमिरेले फिल्म कोअर्डिनेटरको जिम्मेवारी सम्हालेका छन् भने प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:५२