२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

चुनावमा हारेपछि नुवाकोटका बद्रीले भने ‘यो सतीले सरापेको देश हो’

२५ फागुन, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले निर्वाचनमा चौथो स्थानसहितको पराजय व्यहोरे पछि सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले फेसबुक मार्फत जित्ने मत नपाएको रोष देश माथि प्रकट गर्दै यो सतीले सरापेको देश हो भनेर टिप्पणी गर्नुभएको छ ।

उहाँले विकास, मानवसेवा र समाजसेवाको कुनै अर्थ नरहेको दाबी समेत गर्नुभएको छ । मैनालीले भन्नुभएको छ, ‘यो देश सतीले सरापेको देश हो ! यहाँ विकास, मानव सेवा ! समाज सेवाको कुनै अर्थ रहदैन ।’

उहाँले पराजय लगत्तै पहिलो टिप्पणी भने सधैँ राष्ट्रसेवा र मानवसेवामा लागिरहेनेछु भनेर गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘नमस्कार, राजनीतिक हिसाबले मेरो उदेश्य मानव सेवा र राष्ट्र सेवा गर्ने नै थियो ! तर राजनितिक तहबाट पुरा गर्न नसकेपनि म सधैराष्ट्र सेवा, मानव सेवामा, लागिरहेनछु।’

मैनालीले नितजापछि लेखेको अन्तिम स्टेटसमा स्टन्टमात्र बिक्ने र उनीहरूको मात्र मूल्यांकन हुने कुरा उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘यहाँ काम गर्नेहरूको होईन, स्टन गर्नेहरुको मूल्याकंन हुँदो रहेछ १ समयले अश्यवनै मुल्यकंन गर्लानै ।’

dainiki.com

मैनालीको स्टेटस समेत पढेका नुवाकोट क्षेत्र नम्बर १ का एक जना नेताले दैनिकीसँग भने, ‘चुनावको प्रचारकै क्रममा समेत व्यापक अनुभुति हुनेगरी समाजसेवा गर्नुभएको मैनालीले कार्यकर्ताबाट चुनाव जित्ने रिपोर्टिङ र रेस्पोन्स पाउनुभएको थियो । अझै जहाँ बढी पार्टी प्रवेश र लगानी भयो त्यही ठाउँका वडाहरूमा सय मत कटाउन पनि मुस्किल देखियो । आफ्नै वडामा चुनाव जित्न सक्नुभएन ।  त्यसपछि असन्तुष्टि देखिएको हुनसक्छ ।’

मैनाली यस पटक राष्ट्रिय रूपमै चर्चामा रहनुभयो । उहाँको एउटा चुनावी एजेण्डाले प्रवासमा रहेका नेपालीमा समेत बहस सिर्जना गरेको थियो भने प्रतिस्पर्धाी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले समेत समर्थन र आलोचना गरे । मैनालीले नुवाकोटको लिखु र तादी नदी थुनेर फेवा तालको शैलीमा ताल निर्माण गरेर सयौँका लागि रोजगारी सर्जना गरेर हजारौँका लागि घुम्ने र रमाउने ठाउँको विकास गर्ने घोषणा गर्नुभएको थियो ।

रास्वपाका तिमल्सिना विजयी हुँदा मैनालीसहित तीन पूर्वमन्त्री पराजित 

नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमल्सिना विजयी हुनुभएको छ । तिमल्सिनाले नेपाली कांग्रेसका डा प्रकाशशरण महतलाई ३ हजार ९९८ मतान्तरमा पराजित गर्नुभयो । डा तिमल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दा दोस्रो हुनुभएको डा महतले १८ हजार ६११ मत प्राप्त गर्नुभयो । तेस्रो हुनुभएको नेकपाका हितबहादुर तमाङले १३ हजार ४०३ मत प्राप्त गर्नुभयो । त्यस्तै एमालेका बद्री मैनालीले ८ हजार ७२१ मत प्राप्त गर्नुभयो । पराजित हुनुभएको महत, तामाङ र मैनाली तीनै जना पूर्वमन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०६:४३