केपी ओलीलाई फौजदारी मुद्दा चलाउन आयोगको सिफारिस
२४ फागुन, काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो ।
प्रतिवेदन बुझाएपछि विज्ञानराज शर्माले गल्ती गरेका व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिनुभएको। उहाँले पत्रकारहरूसँग भन्नुभयो ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ, हामीले कारबाहीको सिफारिस गरेका छौँ।’ प्रतिवेदन ९ सयभन्दा बढी पृष्ठको रहेको र विभिन्न अनुसूचीहरू पनि संलग्न छन्।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जिल्ला सुरक्षा समिति काठमाडौँका तत्कालीन अध्यक्षलाई जिम्मेवार ठहर गर्दै फौजदारी कानुन अनुसार कारबाही अघि बढाउन सिफारिस गरेको छ।
साथै, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी चन्द्रकुवेर खापुङसमेत घटनामा कानुनी दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १३:५९










