आफ्नै वडामा हारे पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत
२४ फागुन, नुवाकोट । पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत संसदीय निर्वाचनमा पनि आफ्नै वडामा पराजित हुनुभएको छ । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएको महतले पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा समेत उहाँले जित्न सक्नुभएन ।
महतको नुवाकोटको ठेगाना पञ्चकन्या २ हो । उहाँको वडामा रास्वपाले १०९३ मत प्राप्त गर्दा उहाँले २९९ कम मत अर्थात ७९४ मत मात्र पाउनुभयो । २ नम्बरमा ताराले २८३ मत प्राप्त गरेको छ भने सूर्यले १८९ मत प्राप्त गरेको छ।
रास्वपाका डा विक्रम तिमिल्सिनाले अग्रता थप फराकिलो बनाउनुभएको छ । तीन पूर्वमन्त्रीलाई पछि पार्दै उहाँले २१९० मतको अग्रता लिनुभएको छ अहिलेसम्मको मतगणना परिणामा अनुसार डा तिमल्सिनाले १५,२१२ मत प्राप्त गर्नुभएको छ । दोस्रोमा रहनुभएको नेपाली कांग्रेसका डा प्रकाशशरण महतलले १३,०२२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपाका हितबहादुर तमाङले ९,५९२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका बद्री मैनालीले ६,१२७ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म ककनी, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको मतगणना सकिएको छ । लिखु गाउँपालिकाको पाँच वटा वडाको सकिएको छ भने अब लिखु ६ को गणना बाँकी छ । त्यसपछि सूर्यगढी र शिवपुरी गाउँपालिकाको मतगणना हुनेछ । निर्वाचन अधिकृतको कार्यालय खरानीटारमा मतगणना जारी छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १०:५६










