२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छौँ

२३ फागुन, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले नेपालका नागरिकहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको बताउनुभएको हो। उहाँले नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सक्रिय रूपमा मतदान गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गर्नुभएको छ ।

मोदीले आफ्नो सन्देशमा यो निर्वाचन नेपालका लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएका छन्। “नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण निर्वाचनका लागि हार्दिक बधाई। आफ्ना लोकतान्त्रिक अधिकारलाई उत्साहपूर्वक प्रयोग गरेको देख्दा हर्ष लागेको छ,” उहाँले लेख्नुभएको छ।

उहाँले भारत नेपालका लागि नजिकको मित्र र छिमेकी राष्ट्र भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालका जनता र नयाँ सरकारसँग सहकार्य गर्दै शान्ति, प्रगति र समृद्धिका साझा लक्ष्यहरू हासिल गर्न भारत प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मोदीको उक्त सन्देशलाई नेपालमा सम्पन्न निर्वाचनप्रति अन्तर्राष्ट्रिय समुदायको सकारात्मक प्रतिक्रिया तथा समर्थनका रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १८:००