जनअपेक्षा अनुरूप नेतृत्व र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छुः विष्णु पाैडेल
२३ फागुन, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पाैडेलले जनअपेक्षा अनुरुप नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतका लागि नागरिकमा धन्यवाद दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

यस्तो छ उहाँको भनाइ
आदरणीय आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरु,
हार्दिक नमस्कार !
लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं. २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु ।
यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडी बढाउनु हुनेछ ।
निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो । मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं. २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।
म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।
यस् निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आ-आफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिन्हमा मतदान गर्नुहुने मतदाता महानुभावहरू प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु । चुनावी अभियानमा अहोरात्र खटिनुहुने नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । निर्वाचन सम्पन्न गर्न योगदान गर्नुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मि र सञ्चारमाध्यमहरू प्रति धन्यवाद ज्ञापन गर्दछु ।
पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।
बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपनान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।
धन्यवाद
विष्णुप्रसाद पौडेल
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ११:४०










