सप्तरी– १, २ र ४ मा रास्वपा उम्मेदवारको अग्रता
२२ फागुन, सप्तरी । सप्तरीको जारी मतगणनाअनुसार क्षेत्र नं १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।
निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साहले पाँच हजार ३१२ मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका तेजुलाल चौधरीले दुई हजार २८१, जसपा नेपालका डा बाबी सिंहले एक हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै रामजी यादवले एक हजार ६९८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ भने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले ८२२ मत, जसपाका उमेश यादवले ७७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।
क्षेत्र नं १ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका पुष्पाकुमारी चौधरीले दुई हजार ७०७ मत तथा नेपाली कांग्रेसका रामदेव साह तेलीले ४२६ र नेकपा एमालेका सुमनराज प्याकुरेलले २१२ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २२:४५










