आफ्नै वडामा पनि जित्न सकेनन् एमालेका केशवराज पाण्डेले
२२ फागुन, नुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएको नेकपा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले आफ्नै वडामा समेत पराजय व्यहोर्नुपरेको छ ।
बेलकोटगढी १३ नम्बरको मतदाता समेत रहुनभएको पाण्डेले आफैँ उम्मेदवार हुँदा पनि आफ्नै वडामा पराजय व्यहोर्नुपरेको हो । उहाँले १८१७ मत खस्दा जम्मा ३८५ मत मात्र प्राप्त गर्नुभयो । सोही वडामा रास्वपाले उहाँको भन्दा ३५४ मत बढी प्राप्त गरेको छ ।
पाण्डे आफ्नो वडाको मत गणना सम्पन्न हुँदा चौँथो स्थानबाट तेस्रो स्थानमा उक्लिनुभएको छ । १३ नम्बर वडामा कांग्रेसले २७९ मत प्राप्त गर्दा नेकपाले भने १४३ मत प्राप्त गरेको छ ।
अहिलेसम्म बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र १३ नम्बरको मत गणना सम्पन्न हुँदा नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछानेले अग्रता फराकिलो बनाउनु भएको छ । लामिछानेले ३२९६ मतसहित अग्रता लिनुभएको छ ।
उहाँ कांग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसी भन्दा १३९८ मत बढी प्राप्त गर्नुभएको छ । केसीले १८९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको एमालेका उम्मेदवार केशवराज पाण्डेले १५५४ मत प्राप्त गर्नुभएको छ । उहाँ नेकपाको उम्मेदवार हिरानाथ खतिवडा भन्दा ४८ मतले अघि हुनुहुन्छ । खतिवडाले १५०६ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १४:५०










