बाजुरामा मतदान सम्पन्न, मतपेटिका सङ्कलन गरिँदै
२१ फागुन, बाजुरा । आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार ११८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको छ । जम्मा ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।
यो निर्वाचन तुलनात्मक रुपमा विगतका निर्वाचनभन्न्दा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । हाल मतपेटिका सङ्कलन भइरहेको छ । दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत आजै जिल्ला सदरमुकाम मार्तडी पु-याइएको छ ।
अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मतपेटिका विच्छ्या प्रहरीचौकीमा सङ्कलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।
जिल्ला सदरमुकाम मार्तडी आसपासका मतपेटिका मतगणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा ल्याइसकिएको र अन्य क्षेत्रको मतपेटिका सुरक्षाकर्मीले ल्याउने तयारी सकिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारीसाधनमा आज राति नै नेपाली सेनासहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । यहाँ कूल ८७ हजार ८६१ मतदाता कायम छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई अन्य मतदाता छन् ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १८:४६










