परिवर्तनको आशा बोकेर मतदान
२१ फागुन, काठमाडौँ । डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गर्नुभएकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गर्नुभयो भन्ने ठ्याक्कै सम्झना छैन ।
एउटै कुराको सम्झना भने उहाँलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् । “अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,” उहाँले भन्नुभयो, “हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ ।”
उहाँकी नातिनी विदेशमा हुनुहुन्छ । रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । “देशमै काम पाइयो भने किन विदेश बस्नुपथ्र्यो र ?” उहाँ प्रश्न गर्नुहुन्छ ।
डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रुपमा लिनुभएको छैन । उहाँ देशमा केही काम भएको मान्नुहुन्छ, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन । “धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,” उहाँ भन्नुहुन्छ, “तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।” उहाँको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो ।
नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । “युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,” उहाँले भन्नुभयो । आज जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १५:१०










