२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

तनहुँमा किरियापुत्रीले गरे मतदान

२१ फागुन, तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गर्नुभएको छ ।
पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले आफ्ना ८३ वर्षीय बुबाको आज निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताउनुभयो ।
“देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ । मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । एक भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर हुनुहुन्छ । दुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १४:३३