२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छः पूर्वराष्ट्रपति डा यादव

२१ फागुनः धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन आग्रहसमेत गर्नुभयो ।

पूर्वराष्ट्रपति डा यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको भन्दै मतदातालाई गम्भीर भएर विवेकपूर्ण ढङ्गले मतदान गर्न आग्रह गर्नुभयो । “हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौँ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति डा यादवले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनका उपलब्धिको परिणाम भएको उल्लेख गर्दै त्यसमा विसं २००७, २०४६ र २०६२÷६३ का जनआन्दोलन तथा मधेस आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सङ्घीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक विशेषतासहितको संविधानलाई अझ सुदृढ बनाउन सही पार्टी र सही व्यक्तिलाई छनोट गर्नुपर्ने उहाँको भनाइ छ ।

“संविधान र संविधानले संस्थागत गरेका उपलब्धिका लागि धेरैको बलिदानीपूर्ण योगदान छ । यसीबीचमा गत भदौ २३ र २४ मा जेनजी विद्रोह भयो, यस घटनालाई सरकारले उचित ढङ्गले व्यवस्थापन गर्नुपथ्र्यो”, डा यादवले भन्नुभयो, “युवाहरूका माग जायज थिए, तर त्यही क्रममा देशभर आगजनी गराएर अस्थिरता फैलाउने प्रयास प्रतिगामी शक्तिबाट भयो । यस अवस्थामा देशको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आवश्यक छ ।”

उहाँले निर्वाचन सफल भएर देशमा शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १२:०४