ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
२० फागुन, ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर दुई स्थानमा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सामानुपातिकतर्फको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै ललितपुरको नख्खु कारागार र नमूना मच्छेन्द्र माध्यामिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
ललितपुरमा जम्मा दुई हजार ४९ जना अस्थायी मतदाता कायम भएका छन् । निर्वाचनमा खटिएका कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रमा नै सामानुपातिकतर्फको मतदान गर्न पाउनेछन् । नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा कुल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता रहेका छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १०:३९










