मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध
१९ फागुन, लुम्बिनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ बमोजिम गएराति १२ः०० बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भएकाले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कार्यक्रम गर्न नपाइने गरी रोक लगाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृका आचार्यले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।
यस्तै मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन र कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने गरी रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सूचनामा सामाजिक सञ्जाल अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवार पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुनेगरी रोक लगाइएको समेत जनाइएको छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:१८










