१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको छः गृहमन्त्री अर्याल

१८ फागुन, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उहाँले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । मन्त्री अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीचको समन्वय भइरहेकाले भयरहित वातावरणमा निर्वाचन हुने बताउनुभयो ।

सो अवसरमा गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच छलफल भएको थियो । गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी तथा मन्त्रालय र आयोगका अन्य पदाधिकारीको उपस्थितिमा छलफल भएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुँदैछ । निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार निषेध (मौन) अवधि समेत आज राति १२ः०० बजेदेखि सुरु हुँदैछ ।

सो अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको परिपालना गराउन सूक्ष्मरुपमा अनुगमन हुने जानकारी दिनुभयो । भण्डारीले आचारसंहिताको परिपालनालाई प्राथमिकतामा राखिएको र उल्लङ्घकर्तालाई कानुनअनुसार कारबाही हुने बताउनुभयो ।

छलफलका क्रममा गृहमन्त्री अर्यालसमक्ष निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी गराइएको थियो । मतदानपछिको मतपेटिका ढुवानीलगायतमा आयोगले मिलाएको प्रबन्धबारे पनि जानकारी गराइएको थियो ।

गृहमन्त्री अर्याल तथा कार्यवाहक प्रमुख भण्डारीसमेतले यसअघि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील तथा संवेदनशील मानिएका निर्वाचन केन्द्रहरूको समेत अनुगमन गर्नुभएको थियो । समग्र शान्ति सुरक्षाको अवस्थाका विषयमा आयोगले नियमित रूपमा सम्बन्धित निकायहरूबाट जानकारी लिइरहेको छ ।

आयोगले आज राति १२ः०० बजेदेखि सुरु हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई आवश्यक निर्देशन दिइसकेको छ । प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ । कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ । सञ्चारमाध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहितामा छ ।

द्विपक्षीय छलफलमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउत, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १७:५०