१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्ः उपेन्द्र यादव

१८ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गर्नुभएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका अध्यक्ष यादवले चुनाव प्रचारको अन्तिम दिन आज अपिल जारी गर्दै निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय रहेकाले सचेत मतदातालाई भ्रमित नहुन आग्रह गर्नुभएको छ ।

अध्यक्ष यादवले भन्नुभयो, “क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस् । आफ्नो त्याग, आफ्नो इतिहास र आफ्नो स्वाभिमान सम्झनुहोस् । अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस् । सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा सङ्कल्प हो ।”

मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान नभई बलिदानको उपलब्धि भएको अध्यक्ष यादवको भनाइ थियो । “यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्मा लडेर हासिल गरेको हो,” उहाँले भन्नुभयो ।

सङ्घीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै अध्यक्ष यादवले मतदान केवल प्रतिनिधि चयन मात्र नभई मधेसको भविष्यको दिशानिर्देश भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १६:१०