खानेपानीमा दलहरूको जोडः घरघरमा स्वच्छ पानी पुर्याउने प्रतिबद्धता
१८ फागुन, काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन् ।
सुरक्षित, नियमित र गुणस्तरीय पिउने पानीको अभाव अझै पनि देशका धेरै क्षेत्रको प्रमुख समस्या रहेको भन्दै विभिन्न प्रमुख राजनीतिक दलले दीर्घकालीन योजना र संरचनात्मक सुधारका प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुख्य दलले स्वच्छ खानेपानीलाई जनस्वास्थ्य, लैङ्गिक समानता, जलवायु अनुकूलन र दिगो विकाससँग जोड्दै प्राथमिकतामा राखेका छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले विभिन्न राजनीतिक दलको ल्याएका घोषणापत्रमा राखिएका खानेपानीका व्यवस्थापनका योजना राम्रो रहे पनि बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, स्रोत संरक्षण र पारदर्शितामा प्रभावकारी सुधार नगरेसम्म प्रतिबद्धता व्यवहारमा उतार्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।
नेपाली कांग्रेसको प्रतिज्ञा : ‘सफा पानी, स्वस्थ जिन्दगानी’
नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा ‘सफा पानी, स्वस्थ जिन्दगानी’ नारासहित सबै नागरिकलाई स्वच्छ पानीमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । वर्षाको पानी सङ्कलन, भूमिगत जल पुनर्भरण, मुहान संरक्षण तथा पुराना पोखरी, कुवा, धारो र चापाकलको वैज्ञानिक पुनःनिर्माणमार्फत दिगो आपूर्ति व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
दलले जलवायु परिवर्तनका कारण सुक्दै गएका पानीका स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै समुदाय केन्द्रित व्यवस्थापन प्रणाली लागू गर्ने जनाएको छ । घण्टौँ हिँडेर पानी बोक्नुपर्ने अवस्थाको अन्त्य गर्न मुहानदेखि घरधुरीसम्मको वितरण प्रणालीलाई उच्च प्राथमिकतामा अघि बढाइने योजना छ ।
साथै, मेलम्चीलगायतका निर्माणाधीन सहरी तथा ग्रामीण खानेपानी आयोजना समयमै सम्पन्न गरी स्वच्छ पानीको पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ ।
एमाले घोषणापत्र : मासिक १० हजार लिटरसम्म पानी निःशुल्क
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी पाँच वर्षभित्र सबै निर्माणाधीन खानेपानी आयोजना सम्पन्न गर्ने र प्रत्येक परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
एमालेले तराईका जिल्लामा नदीबाट पानी ल्याई थोक वितरण प्रणालीमार्फत आपूर्ति गर्ने योजना अघि सारेको छ । आगामी दुई वर्षभित्र सबै घरधुरीमा आधारभूत खानेपानी तथा सरसफाइ सुविधा पुर्याउने र पाँच वर्षभित्र गुणस्तरीय पानीमा पूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । पानी व्यवस्थापनमा जिआइएस नक्साङ्कन, स्मार्ट वितरण प्रणाली, चौबिसै घण्टा आपूर्ति, सुक्खाग्रस्त क्षेत्रका लागि वैकल्पिक व्यवस्था तथा विपद् पूर्वतयारी योजना लागू गरिने उल्लेख छ । साथै, जलवायु वित्तको निश्चित हिस्सा मुहान संरक्षणमा लगानी गर्ने, जलाधार क्षेत्र, सिमसार, ताल–तलैया र नदी संरक्षणमा जोड दिने प्रतिबद्धता जनाएको छ ।
नेकपाको घोषणा : पाँच वर्षमा घरघरमा सफा पानी
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ग्रामीण तथा सहरी विकाससँगै खानेपानीलाई प्राथमिकतामा राख्दै पाँच वर्षभित्र सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराउने घोषणा गरेको छ । दलले व्यवस्थित बस्ती विकास, २० सहरलाई ‘स्मार्ट सिटी’ र १०० ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज’ बनाउने लक्ष्य सार्वजनिक गरेको छ । ‘एक परिवार, एक आवास इकाइ’ अवधारणाअन्तर्गत पाँच वर्षमा पाँच लाख नयाँ आवास इकाइ निर्माण गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १४:३९










