निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको अपिल
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अनुरोध गर्नुभएकाे छ । आज राष्ट्रका लागि सम्बोधन गर्दै उहाँले फागुन २१ गते बिहीबारका दिन अरु कामै छोडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गर्नुभएकाे हाे ।
‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उहाँले भन्नुभयाे, ‘तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’
राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र फरक विचार भएपनि मनमुटाव र वैमनस्य हुन नहुने उहाँको भनाइ छ। ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन,’ उहाँले भन्नुभयाे, ‘म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो।’
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १२:५५










