निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँः संयोजक दाहाल
१८ फागुन, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गर्नुभएको छ ।
फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उहाँले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
“भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु हुँदैछ । शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ । हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभएको छ ।
रङहरूको पर्व होलीले उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहने उल्लेख गर्दै संयोजक दाहालले यसपटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था नरहेको बताउनुभएको छ ।
“हजारौँ प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन् । यो बेला धेरैका मन भारी छन्, विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु”, उहाँले भन्नुभएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ११:४३










