धनगढीमा नबिलको निःशुल्क जलन उपचार शिविर, ६५ जना बिरामी लाभान्वित
१७ फागुन, काठमाडाैं। धनगढीमा तीन दिनसम्म सञ्चालन गरिएको निःशुल्क जलन उपचार अभियानले ६५ जना पीडितलाई प्रत्यक्ष राहत दिएको छ। कैलालीस्थित सेती प्रादेशिक अस्पताल मा फागुन १२ देखि १४ गतेसम्म भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत लामो समयदेखि उपचारको पहुँचबाट टाढा रहेका बिरामीले विशेषज्ञ सेवा पाएका हुन्।
शिविरका क्रममा २० जना बिरामीको शल्यक्रिया सेती प्रादेशिक अस्पतालमै सम्पन्न गरिएको थियो। अवस्था जटिल रहेका १८ जनालाई थप उपचारका लागि काठमाडौंस्थित सुषमा कोइराला मेमोरियल अस्पताल पठाइएको आयोजकले जनाएको छ। सुदूरपश्चिमका विभिन्न जिल्ला तथा दुर्गम क्षेत्रबाट आएका बिरामीहरू यस शिविरमा सहभागी थिए।
नबिल बैंक, सेती प्रादेशिक अस्पताल र सुषमा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम खासगरी आर्थिक रूपमा कमजोर तथा लामो समयदेखि जलनको समस्या बोकेर बसेका बिरामीलाई लक्षित थियो। शिविरले उनीहरूलाई निःशुल्क विशेषज्ञ परामर्श, शल्यक्रिया र उपचारको अवसर दिएको छ।

शिविरबाट लाभान्वित भएकी दुर्गा पाण्डेले पाँच वर्षीया छोरीको घाँटीमा दुई वर्षअघि लागेको जलनको सफल शल्यक्रिया भएको बताउनुभयाे । “तेलले जलेपछि लामो समय समस्या झेल्दै आएका थियौँ। यहाँ विशेषज्ञ डाक्टरबाट राम्रो उपचार पायौँ,” उहाँले भन्नुभयाे ।
विशेषज्ञ चिकित्सक टोलीको नेतृत्व गरेका प्रा. डा. ईश्वर लोहनीका अनुसार, समयमै उचित उपचार नपाउँदा जलनका घाउहरू झन् जटिल बन्ने गरेको देखिन्छ। “धामी–झाँक्रीमा भर पर्नु, ढिलो अस्पताल आउनु जस्ता कारणले समस्या बढ्छ। यस्ता शिविरले सही उपचारप्रति सचेतना पनि बढाउँछन्,” उहाँले बताउनुभयाे।
आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षीय भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। “घाउ बिग्रँदै गएपछि आशा लिएर शिविरमा आएको थिएँ। यहाँबाट सही उपचारको बाटो खुलेको छ,” उहाँले भन्नुभयाे ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यस शिविरमा ३५ पुरुष र ३० महिला गरी ६५ जना सहभागी थिए। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार, दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई प्राथमिकतामा राखेर पहिलो चरणको कार्यक्रम सुदूरपश्चिमबाट सुरु गरिएको हो। “काठमाडौंबाट गएको विशेषज्ञ टोलीका कारण शिविर प्रभावकारी भयो,” उहाँले बताउनुभयाे, साथै भविष्यमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयाे ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जलन उपचार अत्यन्त संवेदनशील र समयमै आवश्यक हुने भएकाले यस्तो पहल महत्वपूर्ण भएको बताउनुभयाे। उहाँले सहयोगका लागि नबिल बैंक लिमिटेड लाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गर्नुभयाे ।
शिविरसँगै अस्पतालमा आधारभूत जलन उपचारसम्बन्धी तालिम पनि सञ्चालन गरिएको थियो। करिब ५० जना डाक्टर, नर्स र प्रशासनिक कर्मचारीलाई लक्षित तालिमले शल्यक्रियापछि आउने बिरामीको फलोअप उपचारमा अस्पतालको क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:३५










