१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

नक्कली पत्र पढेर भावुक भएका डा खरालले मध्यरातमै छाडे रास्वपा

१६ फागुन, काठमाडाैँ । नक्कली पत्र पढेर भावुक बन्नुभएको रास्वपाका एक जना नेताले मध्यरातमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नुभएको छ । नेपाल प्रेसले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर पत्र पठाइएको भनेर नक्कली पत्रसहितको समाचार प्रकाशित भएपछि नेता डा पुष्पमणि खरालले मध्यरातमै पार्टी परित्याग गर्नुभएको छ ।

नेपाल प्रेसले भने नक्कली पत्रसहितको समाचार हटाएर माफी मागेको छ । समाजिक सञ्जालमा उक्त पत्र फेक रहेको कुरा पुष्टि भैसकेको छ । तर नेपाल प्रेसको समाचार पढेर भावुक हुनुभएको खरालले भने फेसबुकबाटै राजीनामा दिनुभएको छ । उहाँले रास्वपाको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । खराल यसअघि एमाले छाडेर रास्वपामा प्रवेश गर्नुभएको थियो ।

dainiki.com

उहाँले भन्नुभएको छ, ‘Monroe Doctrine, भारतको सुरक्षा छाता (Security Umbrella), सेना सङ्ख्या घटाउने कुरा, हिन्दू धर्मका लागि कुनै स्थान नरहने भनाइ, “सब ठिक हो जाएगा” भन्ने वक्तव्य, जेन जी आन्दोलन ताका Rabi Lamichhane जेलबाट विजय जुलुससहित बाहिरिनु, RSP को पार्टी DNA (पारदर्शिता, जवाफदेहिता, प्राथमिक निर्वाचन) को विनाश र अहिले भर्खरै nepalpress.com मा प्रकाशित प्रधानमन्त्री Narendra Modi लाई Rabi Lamichhane र Balen Shah द्वारा लेखिएको पत्र… माथि उल्लेखित सबै कुराहरूलाई जोडेर हेर्दा, म राष्ट्रीय स्वतन्त्र पार्टी बाट अलग हुने निर्णयमा पुगेको छु।म निर्दोष र इमानदार मन भएका मानिसहरूको सधैं सम्मान गर्दछु। मलाई महत्वपूर्ण पाठ सिकाउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। नवलपुर–२ र सम्पूर्ण नवलपुरबासीप्रति विशेष धन्यवाद !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर पत्र पठाइएको भन्ने विषय पूर्ण रूपमा नक्कली, भ्रामक र कपोलकल्पित भएको समाचार यसअघि दैनिकीमा पनि प्रकाशित भैसकेको छ ।

पार्टीको केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उक्त पत्र सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा सार्वजनिक गरिएको पत्र रास्वपाको आधिकारिक दस्तावेज नभएको तथा जिम्मेवार व्यक्तिहरूको नाम जोडेर अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा भ्रम फैलाउने प्रयास गरिएको उल्लेख छ ।

उक्त पत्र रास्वपाले सधैँ सार्वजनिक गर्ने लेटरप्याडसँग समेत मिल्दैन । साथै पत्रमा सामन्यतया अनुच्छेद मिलाएर प्रिन्ट गरिन्छ । तर नक्कली पत्रमा त्यो पनि गरिएको छैन भने लेटरप्याड समेत नक्कली नै प्रयोग भएको देखिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार ००:४८