१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

महाकाली सन्धि विवादमा देवराज घिमिरेको प्रष्टोक्तिः मैले हस्ताक्षर गरेको छैन

१५ फागुन, काठमाडौँ । पूर्व सभामुख, नेकपा (एमाले) नेता तथा झापा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिसम्बन्धी उठिरहेका जिज्ञासा र आरोपबारे सार्वजनिक रूपमा स्पष्टोक्ति दिनुभएको छ। सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट सन्धिबारे भ्रम फैलाइएको भन्दै उहाँले आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पार्नुभएको हो ।

घिमिरेले सार्वजनिक अपिलमार्फत भन्नुभएको छ, “कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन। त्यो समयमा म सांसद, मन्त्री वा राज्यको कुनै आधिकारिक जिम्मेवारीमा थिइनँ,” उहाँले उल्लेख गर्नुभएको छ । लोकतान्त्रिक पार्टीभित्र बहस र छलफल हुनु स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले आफ्नो मत पार्टीभित्र राखेको तर निर्णय प्रक्रियामा आफ्नो औपचारिक भूमिका नरहेको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यले एक भिडियोमार्फत सन्धिबारे प्रश्न सोधिएको थियो। नियोजित प्रचारको आशंका भएपछि आफूले त्यस्तो प्रयासलाई साथ नदिएको उहाँले बताउनुभएको छ। “अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेको छ,” उहाँले टिप्पणी गर्नुभएको छ ।

dainiki.com

झापा–२ का उम्मेदवार घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राजनीति आफ्नो पेशा नभई सेवा भएको बताउनुभएको छ। “बिना परिश्रम एक रुपैयाँ पनि लिएको छैन। अहिलेसम्म पद र प्रतिष्ठाका लागि राजनीति गरेको छैन,” उहाँको भनाइ छ। तीन वर्षअघिदेखि प्राप्त राजकीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको बताउँदै गर्दै उहाँले आफ्नो कार्यसम्पादनको निष्पक्ष मूल्यांकन गर्न आग्रह गर्नुभएको छ ।

झापा–२ बासीसमक्ष विगत र पछिल्ला तीन वर्षका कामको समीक्षा गर्न अनुरोध गर्दै उहाँले कुनै कमजोरी देखिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको बताउनुभएको छ ।

महाकाली सन्धिबारे उठेका विवाद र त्यससँग जोडिएका आरोपका सन्दर्भमा घिमिरेको यो स्पष्टोक्तिले झापा–२ को चुनावी माहोलमा नयाँ बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १६:०४