काठमाडौँमा सार्वजनिक ठाउँमा भेला भएर होली मनाउन निषेध
१५ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको दिन काठमाडौँमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले एक सूचना प्रकाशन गर्दै सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभएकाे हाे ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो ।
त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १३:२७










