प्रहरीकोमा दर्ता हुने उजुरीमध्ये बैंकिङ कसुरका धेरै, माघमा मात्रै १ हजार १७ वटा दर्ता
१४ फागुन, काठमाडाैं । प्रहरीकोमा दर्ता हुने उजुरी मध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाहरु हुने गरेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनामा मात्रै बैंकिङ कसुरमा सबैभन्दा धेरै १ हजार १७ मुद्दा दर्ता भएका छन्।
यो कुल मुद्दा दर्ताको २२ दशमलव २९ प्रतिशत हो। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध ५६३ अर्थात १२ दशमलव ३४ प्रतिशत मुद्दा दर्ता भएका छन्।
आत्महत्याका ४ सय ९४, लागुऔषधका ४ सय ३६, भवितव्य ज्यानका ३ सय ८०, चोरीका ३ सय ६४ वटा मुद्दा दर्ता भएका छन्। देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता भएकामा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ३ सय ३७ वटा मुद्दा दर्ता भएका तथ्याङ्कले देखाएको छ।
कोशीमा ७७५ वटा, मधेसमा ७०४ वटा, लुम्बिनीमा ५७३ वटा, बाग्मती प्रदेशमा ३ सय ८८, गण्डकीमा ३६७ वटा, सुदूरपश्चिममा २५८ वटा र कर्णालीमा १५९ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १४:४९










