१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

साम्बाको उपचारका लागि डेढ करोड रुपैयाँ उठ्यो, अब सहयोग रोक्न आग्रह

१२ फागुन, काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराउनुभएकाे छ । साम्बाले आफूलाई खुट्टामा लागेको चोटको उपचारारार्थ सहयोग अपिल गर्नुभएकाे थियाे । पछिल्लो २४ घण्टामा नै उहाँलाई करिब डेढ करोड सहयोग जुटेको हो ।

आफ्नो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी गराउँदै साम्बाले सबैलाई धन्यवाद दिँदै अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न  अपिल गर्नुभएकाे छ ।

‘आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु,’ उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो।’

उहाँले थप लेख्नुभएकाे छ, ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १६:२५