बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण
१२ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
प्राधिकरणले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले उपलब्ध गराउन सक्ने अधिकतम प्रतिफल (ब्याजदर) उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको छ । प्राधिकरणले ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ भने पेश भएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले मुद्धति निक्षेपमा लगानी गर्ने रकम भने उल्लेख गरेको छैन ।
दरभाउपत्रसँगै बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान विवरण, निष्क्रिय सम्पत्तिको अवस्था, कर्जा–निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष तथा पूँजी पर्याप्तता कोष सम्बन्धी विवरण खुल्ने कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
प्राधिकरणले प्राप्त प्रस्तावहरूको मूल्याङ्कनपछि उपयुक्त बैंक तथा वित्तीय संस्थामा रकम मुद्दती निक्षेपका रूपमा लगानी गर्ने जनाएको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १३:१०










