११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

एडिलेडमा होली फेस्टिवल फेब्रुअरी २८ मा, एलिना चौहान आउदै

एडिलेड । विगत बर्षहरुमा झै यस बर्ष पनि एडिलेड नेपालको आयोजनामा फेब्रुअरी २८ मा एडिलेडमा `होली फेस्टिवल´ आयोजना हुने भएको छ ।

गायिका एलिना चौहान, गायकहरु अर्जुन सापकोटा, रमेश राज भट्टराई, प्रोशेष पाण्डे लगायतको उपस्थितिमा हुने आयोजक संस्था एडिलेड नेपालका सचिव सुसन कडेलले बताउनु भएको छ । कलाकारहरु शुक्रवार साँझ नै एडिलेड आइपुग्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको महत्व दर्शाउदै एडिलेड नेपालका सचिव कडेलले नेपाली पर्वहरु, रीतिरिवाज र परम्परालाई प्रवासमा कायम राख्दै नयाँ पुस्ताहरुलाई समेत साक्षात्कार गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको बताउनुभयो  । उहाले यस कार्यक्रममा साथी संगी विच रंग लगाएर खुशी साटा गरेर आफ्ना समस्या तथा तनावहरुलाई बिर्सेर प्रेम र सदभाव छर्ने बताउनु भयो । कार्यक्रमका बिचमा अष्ट्रेलियाका राजनितिक नेतृत्व संघिय सांसद देखी राज्यका सांसदहरुको समेत उपस्थिति रहने सचिव कडेलले बताउनु भयो ।

कडेलले कार्यक्रममा सांगतिक तथा सांस्कृतिक प्रस्तुति, व्यवसायिक स्टल साथमा विभिन्न खानाका परिकारहरु समेत रहने उल्लेख गर्दै कार्यक्रमको प्रवेश निःशुल्क रहेको जानकारी दिनुभयो। कार्यक्रम दिनको २ बजेबाट सुरु हुनेछ ।

विगत बर्षहरुमा झै यस बर्ष पनि आफ्नो व्यक्तिगत रुपमा रङ लिएर जान चाहि नपाईने भएको छ । सचिव कडेलले जुन पायो त्यहि रंगले छालामा असर गर्ने भएकाले काउन्सिलको परिक्षण र अनुमति अनुसारको कार्यक्रम स्थलमा नै बिक्रीका लागि राखिएको रंग मात्र प्रयोग गर्नु पर्ने बताउनुभयो ।  

एडिलेड नेपालले २०१८ देखी होली फेस्टिवल गर्दै आएको छ ।` फेस्टिवल स्टेट´ उपनाम पाएको साउथ अष्ट्रेलिया राज्यको म्यारियन काउन्सिलले एडिलेड नेपालद्वारा २०१९मा आयोजित होली फेस्टिवललाई ` इभेन्ट अफ दि एयर´ समेत घोषणा गरेको थियो । फेस्टिवलको सातौ संस्करणमा पुग्दा बिगत बर्षहरुमा भन्दा धेरैको उपस्थिति हुने आयोजकहरुले आपेक्षा गरेका छन् । जन समुहको उपस्थिति र पर्वको महत्व बुझेर नै राज्य सरकारले समेत सहयोग गरेको छ । बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा हिमाली राज्य नेपालको पर्वमा गैर्ह नेपालीहरुको समेत उपस्थिति हुने गरेको छ ।

प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो – फागु पुर्णिमा । हिन्दु धर्मग्रन्थमा अनुसार कश्यप ऋषीकी पुत्री, असुर हिरण्यकश्यपकी बहिनी थिइन होलिका । विष्णु पुराणमा उल्लेखीत कथाअनुसार होलिकालाई आगोमा नजल्ने बरदान थियो । यता हिरण्यकश्यप भने भगवान विष्णुका घोर विरोधी थिए । तर, उनका छोरा भक्त प्रल्हाद विष्णुका भक्त थिए । आफ्नो छोरा नै आफ्नो विरोधीको भक्त भएको हिरण्यकश्यपले रुचाएनन् । हिरण्यकश्यपले विष्णुको भक्त भएको आफ्नो छोरालाई मार्ने षड्यन्त्र रचे ।

छोरालाई आगोमा जलाएर मार्ने उदेश्य अनुसार हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मद्धत मागे । होलिका प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भईन् । आफ्ना भक्तलाई षडयन्त्रपूर्वक मार्न लागिएको चाल पाएपछि विष्णु भगवानले आगोमा बसेकी होलिकाको काखबाट भक्त प्रल्हादलाई बचाए र होलिकालाई आगोमा डढाएर मारे । विष्णुले भक्त प्रल्हादलाई बचाएर होलिकालाइ मारेको खुसियालीमा होली मनाइन्छ । होलीको एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि विहान रंग एक अर्कामाथि दल्ने चलन छ ।

होली पर्वले वसन्त ऋतुको आगमनको समेत उद्घोष गर्दछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १६:४७