नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
११ फागुन, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा आज कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ । साथै, सभाबाट चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारश्रमिक निर्धारण पनि भएकाे छ ।
त्यसैगरी बोनस सेयर वितरण पश्चातको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने र आवश्यता अनुसार तथा नियामक निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।
प्रकाशित मिति : 15:58









