१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्दै राष्ट्र बैंक

११ फागुन, काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त रकम ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको हो।

 ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ बराबर रकम छुट्याइएको राष्ट्र बैंकले जनाएकाे छ। लगानी अवधि सन् २०२६ फेब्रुअरी २७ देखि सन् २०२७ फेब्रुअरी २७ सम्म रहनेछ।

निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको मितिमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।

त्यस्तै, खुद तरल सम्पत्ति न्यूनतम सीमाभन्दा कम नभएको, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको तथा पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेछ।

त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : February 23, 2026 at 2:16 pm