७ महिनामा २५ अर्बकाे धानचामल आयात
१० फागुन, काठमाडौं । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउनदेखि माघसम्म) मा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।
गत आव २०८१/८२ को सोही अवधिमा २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरकाे धानचामल आयात भएकाे थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान आयात घटेको छ भने चामल आयात बढेको छ । चालु वर्षकाे ७ महिनामा १२ अर्ब ७४ करोडको ३ लाख ४८ हजार १ सय ३७ टनमा आयात भएकाे छ ।। गत वर्षकाे सोही अवधिमा १४ अर्ब ५१ करोड रुपैयाँको ३ लाख ८१ हजार ६ सय २२ टन धान आयात भएको थियाे ।
यस वर्ष ७ अर्ब २४ करोडको १ लाख १३ हजार ७ सय ९३ टन चामल आयात भएको छ । गत वर्षकाे साेही अवधिमा ६ अर्ब २० करोडको ९२ हजार ७ सय ५१ टन चामल आयात भएको थियाे । याे अवधिमा ४६ हजार १३ टन (५ अर्ब १२ करोड) बासमती चामल आयात भएकाे छ । गत वर्ष भने ४० हजार ४ सय ४९ टन (४ अर्ब ५७ करोड) काे बासमती चामल आयात भएकाे थियाे ।
यस बर्ष ६ हजार २ सय ६८ टन (२५ करोड ९४ लाखकाे कनिका र धानको बिउ आयात भएको छ । गत वर्ष जम्मा ८८ टन (करिब २८ लाख रुपैयाँ) कनिका आयात भएको थियाे ।
त्यस्तै धानको बिउ आयात गत वर्ष १ सय ८० टन (७ करोड ८९ लाख रुपैयाँ) बाट बढेर यस वर्ष २ सय ७२ टन (१० करोड २२ लाख) पुगेको छ ।खैरो चामल (ब्राउन राइस) भने गत वर्ष साढे दुई टन अर्थात् ४ लाख ४८ हजार रुपैयाँको आयात भएकोमा यस वर्ष झन्डै ५ टन अर्थात् ५ लाख ४७ हजार रुपैयाँको भित्रिएको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १५:१०










