वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन गरेकोप्रति राप्रपाको आपत्ति
८ फागुन,काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।
बिहीबार राति रास्वपाका सभापति रवि लामिछानेको दाङ आगमनको समयमा तुलसीपुर उपमहानगरपालिकाको बिरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहार गरेको भन्दै राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । राप्रपा लुम्बिनीले यो कार्यको घोर भत्र्सना एवं खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सैह्य हुँदैन । तसर्थ यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौं । साथै, यस्तो घटना फेरि नदोहोरिने प्रतिवद्धता गर्नहुन समेत आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १६:४७










