झण्डा जलाएकोमा माफी माग्न रास्वपालाई युवा संघको आग्रह, अराजकताविरुद्ध सडकमा उत्रिने चेतावनी
८ फागुन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले देशका विभिन्न स्थानमा बढ्दो अराजकता, उच्छृङ्खलता तथा आपराधिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युवा संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू आलोचना स्वीकार्ने तर अवरोध, अराजकता र उच्छृंखलता नस्वीकार्ने बताउनुभएकाे छ ।
रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न युवा संघले अनुरोध समेत गरेको छ । लोकतन्त्रको नाममा सामाजिक सद्भाव भड्काउने, तोडफोड तथा हिंसात्मक गतिविधि गर्ने कार्य अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
संघले नेपालको संविधानले प्रत्येक नागरिकलाई राजनीतिक दल खोल्ने, सभा–समारोह गर्ने र संविधानसम्मत गतिविधि सञ्चालन गर्ने अधिकार दिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमाथि अवरोध सिर्जना गर्ने गतिविधि सह्य नहुने बताएको छ। विरोध र आलोचना स्वीकार्य भए पनि अराजकता र आपराधिक क्रियाकलापविरुद्ध सशक्त प्रतिवाद गरिने चेतावनी विज्ञप्तिमा दिइएको छ।
विज्ञप्तिमा नेकपा (एमाले) परिवर्तन, प्रगतिशील रूपान्तरण, समावेशी लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रहेको उल्लेख गर्दै पार्टी नेतृत्वमाथि भ्रमपूर्ण र कपोलकल्पित आरोप लगाउने कार्यको कडा निन्दा गरिएको छ। लाखौं कार्यकर्ताको त्याग र बलिदानबाट स्थापित संगठनमाथि आक्रमण गर्ने प्रयास अत्यन्त खेदजनक रहेको संघको भनाइ छ।
संघले विशेषगरी दाङमा हालै घटेको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरेको छ। अन्यथा देशव्यापी रूपमा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ।
साथै, राज्यपक्षलाई कानुनी दायरामा ल्याई अराजकता नियन्त्रण गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिमाथि आँच आउने कुनै पनि प्रयासको कडा जवाफ दिने संघले जनाएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १४:०४










