७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

एमालेको चुनावी घोषणापत्रः विद्यार्थीलाई २० लाख ऋण, युवालाई मासिक १० जीबी डाटा निःशुल्क

७ फागुन, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्मको निर्व्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

बिहीबार जारी चुनावी घोषणापत्रमा एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्मको निर्व्याजी ऋण उपलब्ध गराउने र उनीहरूलाई पढ्दै कमाउँदै गर्ने वातावरण निर्माण गर्न ‘इन्टर्नसिप’ को व्यवस्था गर्ने उल्लेख छ ।

साथै, गर्भवती महिलाको ५ लाखसम्मको जीवन बीमा निःशुल्क गर्ने र उनीहरूको स्वास्थ्य परीक्षण तथा यातायात खर्च दोब्बर गर्ने प्रतिबद्धता एमालेले जनाएको छ। महिला उद्यमशीलता विकासका लागि २० लाख रुपैयाँसम्मको निर्व्याजी ऋण र विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने एमालेको योजना छ।

सूचना प्रविधि र स्टार्टअपमा लाग्ने युवाहरूलाई अन्तर्राष्ट्रिय कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले १० हजार डलर बराबरको ‘डलर कार्ड’ उपलब्ध गराउने तथा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई वार्षिक रूपमा मासिक १० जीबी डाटा निःशुल्क दिने बाचा पनि घोषणापत्रमा समेटिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १४:४५